२०८१ बैशाख २४, सोमबार    

हेटौंडाको बजेट सर्वसम्मतिले पारित

२०७९ असार २१, मंगलबार ११:३० बजे

हेटौंडा उपमहानगरपालिकाको आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याइएको बजेट सोमबार भएको नगरसभा अन्तर्गत एघारौं अधिबेशनको तेस्रो बैठकले सर्वसम्मतिले पारित गरेको हो । १३ असारमा भएको एघारौ  नगरसभाको दोस्रो बैठकमा उपप्रमुख राजेश बानियाँले आगामी आवका लागि २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । उक्त बजेट सोमबार बसेको नगरसभाले सर्वसम्मतिले पारित भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् । उपमहानगरले पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख बजेट बिनियोजन गरिएको थियो ।

उपमहानगरले वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, विविध शीर्षकमा ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपमहानगरले व्यहोर्ने खर्चमा आन्तरिक स्रोततर्फ ९४ करोड ३६ लाख, राजस्व बाँडफाँडतर्फ ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख, अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसअघि एघारौं नगरसभाको पहिलो बैठक एमालेका नगरसभा सदस्य अनुपस्थित भएपछि बजेट प्रस्तुत हुन सकेको थिएन् । कानुनतः नगरसभामा ५१ प्रतिशत नगरसभा सदस्यको उपस्थिति पश्चात मात्रै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान थियो ।

तर, ९५ सदस्यीय नगरसभामा गठबन्धनका ४० जना सदस्यको मात्रै उपस्थिति थियो । नगर प्रमुख मिनाकुमारी लामाले १३ असारमा एघारौं नगरसभाको दोस्रो बैठक बोलाएकी थिइन् । बैठकअघि एमालेका सदस्यसँग तीन बुँदे सहमति भएपछि आगामी आवको लागि बजेट प्रस्तुत भएको थियो ।यसैगरी, उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । समिति सदस्यमा ५ नम्बर वडाका वडा सदस्य ज्ञानबहादुर थापा र ७ नम्बर वडाका वडा सदस्य सन्तु पाख्रिन सदस्य चयन भएका छन् ।
कार्यपालिका बैठकले वृत्ति विकास सम्बन्धि विशेष ऐन, २०७५ खारेज गरी नयाँ कानून तर्जुमा गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । कार्यपालिका बैठकले थप ६ वटा निर्णय पनि गरेको छ ।

बैठकले सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्वमा जग्गा वर्गीकरण कार्यदल गठन गरिएको छ । कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त पश्चात् नगर प्रमुखको अध्यक्षतामा रहने भू–उपयोग परिषद्मा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागू गरिने प्रवक्ता न्यौपानेले बताए । त्यस पश्चात् हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सुचारु हुने जनाइएको छ ।

बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए । साविक गाविसमा समायोजन भएको वडाहरुमा अधिकारसहित अधिकृत र लेखापाल खटाउने, नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाकोतर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधासमेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न दुई जना डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिए । नगरसभामा बोल्ने सदस्यहरुले हाल बनेको बजेट उत्कृष्ट रहेको भन्दै नगरको दीर्घकालिन महत्व राख्ने योजनाहरुलाई प्राथमिकता दिन अनुरोध गरेका थिए ।