२०८१ बैशाख २५, मंगलबार    

समयमै पुल निर्माण गर्न स्थानीयको दबाब

२०७८ चैत्र २४, बिहीबार १८:४८ बजे

हेटौंडा–१ स्थित चौकीटोल र लालझाडी जोड्ने पक्की पुल तोकिएको समयमै निर्माण गर्न स्थानीयले विहीबार दबाबस्वरुप ज्ञापनपत्र बुझाएका छन् ।

हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेको सक्रियतामा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद पौडेल र स्थानीयले वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेललाई निर्माण कम्पनीले ठेक्का सम्झौता भएको नौ महिना वितिसक्दा पनि काम सुरु नगरेकोभन्दै तोकिएकै समयमा पुल निर्माण गर्ने वातावरण तयार पार्न आग्रह गरेका छन् ।

निर्माण कम्पनी शिवशक्ति–सिद्धार्थ–शिवम जेभीले २०८० जेठ १७ गतेभित्र पुल निर्माण सक्ने गरी गतजेठ १८ गते सम्झौता गरेको थियो । करिब दशकरोड रुपैयाँ लागतमा निर्माण हुन लागेको यस पक्की पुल निर्माण गर्न ठेकेदार पक्षले विभिन्न बहाना बनाउँदै पन्छिरहेको स्थानीयका गुनासो छ । ‘वर्षात्को समयमा तुइनमा आउजाउ गर्ने गरेका थियौं । अहिले त्यो पनि निकालिएको छ । पुल पनि बनेको छैन ।’, स्थानीय समिति अध्यक्ष पौडेलले झोलुङ्गे पुलबाट पैदल यात्रा गर्नुपर्नेहुँदा आफूहरु समस्यामा परेको बताए ।

पुल निर्माणका लागि खनिएको खाल्डोका कारण अहिले त्यसक्षेत्रमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।