२०८० चैत्र १६, शुक्रबार    

खानेपानी बोर्डको बजेट १८ करोड ८२ लाख

२०७९ भाद्र १, बुधबार १३:३३ बजे

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट १८ करोड ८२ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ ।

बुधबार बोर्डले पत्रकार सम्मेलन गरी गत आवको समीक्षा गर्दै चालु वर्षको बजेट सार्वजनिक गरेको हो । बोर्डले चालु आवका लागि आन्तरिक आयतर्फ १३ करोड २५ लाख रुपैयाँ अनुमान गरेको छ । बाह्य आम्दानीमा २ करोड ६७ लाख रुपैयाँ रहने अनुमान गरेको छ । बोर्डको बैंक खातामा २ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षमा ५ करोड ३९ लाख रुपैयाा चालु खर्च, सेवा सञ्चालनका लागि ३ करोड ८२ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ९ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । साविक नेपाल खानेपानी संस्थानबाट व्यवस्थापन बोर्डमा रुपान्तरण भएपछि बोर्डले सेवा प्रवाह गुणस्तरीय बनाउँदै लगेको छ ।

बोर्डका अध्यक्ष प्रताप विष्टले सेवामुखी बन्दै सेवाक्षेत्र विस्तार गरी उपभोक्तालाई गुणस्तरीय पानी सहुलियत दरमा वितरण गरिने बताए । नगर क्षेत्रका उपभोक्ता समितिमार्फत सञ्चालित खानेपानी योजनालाई पनि बोर्डमै गाभेर सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्ने र चुहावट र पानी चोरी रोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बोर्डले सघन निगरानी गरिरहेको अध्यक्ष विष्टले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले करको दर नभई दायरा बढाएर आयश्रोत बढाउने र नगरवासीको आधारभूत आवश्यकताका विषय सहुलियतपूर्ण दरमा वितरण गर्ने योजना रहेको बताइन् ।

बोर्डको बजेट समितिका संयोजक इन्द्रप्रसाद नेपालले खानेपानी व्यवस्थापन बोर्डको सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराएका थिए । दैनिक १ करोड ८२ लाख लिटर पानी उत्पादन गरी वितरण गर्दै आएको बोर्डको धारा संख्या २२ हजार २ सय १४ रहेको छ ।