स्थानीय तह निर्वाचन नजिकिएसँगै मकवानपुरमा रहेका राजनीतिक दलहरु उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा जुटेका छन् ।
नेकपा एमालेले केन्द्रीय निर्देशन अनुसार वडा तथा प्रमुख वा उपप्रमुखका आकांक्षीहरुको नामावली संकलन गरेको छ भने हाल सत्तागठबन्धनमा रहेका दलहरु केन्द्रीय निर्देशन कुरेर बसिरहेका छन् । एमालेले वडा तह र पालिका तहको प्रारम्भिक सिफारिस जिल्ला तहलाई गरेको र अधिकांश वडामा सर्वसम्म्तरुपमा उम्मेदवार टुंगिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
‘केही वडाबाट तीनजनाको दरले अध्यक्षको नाम सिफारिस भएर आएको छ । केही पालिकामा पनि तोकिएभन्दा धेरै नाम सिफारिस भएर आएको छ । हामी चैत २९ गतेभित्रमा वडा र गाउँपालिका तहको उम्मेदवार टुंग्याउने छौं ।’, उनका अनुसार नगर र उपमहानगरको उम्मेदवार प्रदेश कमिटीले वैशाख पहिलो हप्ताभित्र टुंग्याउने सम्भावना रहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाको दशमध्ये ६ स्थानमा एमाले विजयी भएको थियो ।
केन्द्रीय निर्देशन अनुसार हाल सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चाको वैठक बसेपनि उम्मेदवारको विषय अझै टुंगिएको छैन । ‘हामी केन्द्रीय निर्देशन अनुसार तोकिएको समयभित्र उम्मेदवार टुंग्याउनेछौं । गठबन्धनको मोडालिटी क्लिएर भएपछि गठबन्धनले सोही अनुसार निर्णय गर्नेछ ।’, कांग्रेस जिल्ला सभापति तथा गठबन्धन संयोजक बुद्ध लामाका अनुसार वडा तहबाटै तालमेल गरेर अगाडि बढ्ने सहमति भएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले २÷२ स्थानमा विजयी भएका थिए । एमालेबाट निर्वाचित भएका दुईजना गाउँपालिका अध्यक्ष नेकपा (एस) राजेका छन् । गठबन्धनले वडा तहबाटै गठबन्धन मतको अवस्था मूल्यांकन गरिरहेको छ । सोही अनुसार उम्मेदवार खडा गर्ने सत्तारुढ गठबन्धनको दावी छ । जिल्लाको केही वडामा राप्रपा र राप्रपा नेपालको प्रभाव भएपनि विभाजनका कारण दुवै दलका कार्यकर्ता अलमलमा रहेका छन् ।