२०८१ बैशाख २६, बुधबार    

‘प्रेमगीत ३’ र ‘प्रकाश’ रिलिज नहुादा प्रदीपलाई घाटा

२०७८ फाल्गुन १०, मंगलबार ११:४६ बजे

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ पछि अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’ र ‘प्रकाश’ गरी दुई फिल्ममा अभिनय गरे । दुवै फिल्म उनको करिअरका लागि महत्वपूर्ण छन् । लगातार असफलता भोगिरहेका उनलाई ‘प्रेमगीत ३’ ले सफलताको सु:ख दिन सक्नेछ । ‘प्रकाश’ मा निर्वाह गरेको चरित्रले भने उनको लभर ब्वाईको छवि बदल्ने अपेक्षा गरिएको छ ।

कोरोना महामारीको चपेटामा देश नपरेको भए प्रदीपका यी दुवै फिल्म प्रदर्शनमा आइसकेका हुने थिए । तर, कोरोनाले हलहरु पटक–पटक बन्द हुँदा दुवै फिल्मका निर्माताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन् । बरु, यतिबेला मुम्बईमा ‘प्रेमगीत ३’ र ‘प्रकाश’ लाई हिन्दी भाषामा डब गर्ने काम भइरहेको छ । सिनेमा हलमा भने यी दुई फिल्म कहिले प्रदर्शनमा आउाछन्, कुनै निश्चित छैन ।

‘प्रेमगीत ३’ र ‘प्रकाश’ मध्ये एउटा फिल्म प्रदर्शनमा आएको भए प्रदीपलाई धेरै हदसम्म राहत मिल्ने थियो । तर, कोरोनाको डरले निर्माता अगाडि नसर्दा उनीसँग पनि फिल्मको रिलिज कुरेर बस्नुको विकल्प छैन । यी दुई फिल्म प्रदर्शनमा आएपछि मात्र प्रदीपले नयाँ फिल्ममा काम गर्ने योजना बनाएको बताइएको छ । यसैले दुई वर्षयता अफर आएका फिल्महरु उनले साइन गरेका छैनन् ।

 प्रदीपको पाइपलाइनमा फिल्मै नभएका भने होइनन् । निर्माता सन्तोष सेनको नयाँ फिल्म ‘हुतुतु’ मा उनले अभिनय गर्ने फाइनल भइसकेको छ । उनले तीन वर्षअघि निर्देशक हेमराज जिसीको एक फिल्म पनि साइन गरेका थिए । तर, यी फिल्म पनि निर्माण हुन सकेका छैनन् । एकातिर फिल्म प्रदर्शन नहुनु र अर्कोतिर अनुबन्धित भएका फिल्म नबन्नुले प्रदीपलाई ठूलो घाटा भएको छ ।