२०८१ बैशाख १३, बिहीबार    

सत्तारुढ गठबन्धनले मुलुकलाई स्थायित्व दिन्छ : डिना

२०७९ कार्तिक १५, मंगलबार १८:५९ बजे

नेपाली कांग्रेसकी केन्द्रिय सहमहामन्त्री तथा सत्तारुढ गठबन्धनको तर्फबट मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनले मुलुकलाई स्थायित्व दिने बताएकी छन् ।

मंगलबार हेटौंडा–१२ मा गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै डिनाले यस्तो बताएकी हुन् । उनले सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनले मात्रै देशलाई विकासतर्फ डोहोर्याउन सक्ने दावी गरिन् । ‘नेपालमा अहिलेको यो व्यवस्था ल्याउन गिरिजा प्रसाद कोइराला,प्रचण्ड र माधव नेपालले भुमिका खेल्नु भएको थियो । त्यसैले यो गठबन्धन आजको मात्रै गठबन्धन होइन,विगतदेखी हुदै आएको गठबन्धन हो । यो गठबन्धनले देशलाई विकासतर्फ स्थायित्व दिन्छ’,डिनाले भनिन् ।

उनले आसन्न निर्वाचनलाई भविष्यसँग जोडेर हेरेर सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह गरिन् । देश विकासको लागि भएपनि लोकतान्त्रिक बाम गठबन्धनले जित्न जरुरी रहेको उनको भनाई थियो । डिनाले देशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको आगामी सरकार बन्ने दावी गरिन् । उनले सत्तारुढ गठबन्धनको उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको भएपनि जनतामाझ आफ्नो एजेण्डा सुनाउनको लागि ठाउँ–ठाउँमा पुगिरहेको सुनाइन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ख का उम्मेदवार आनन्दराम पराजुलीले गठबन्धनबाट जितेकाहरु कसैलाई पनि विभेद गरेर काम नगर्ने बताए । उनले गठबन्धनका उम्मेदवार सबै राजनीतिक दल र जनताको उम्मेदवार रहेको भन्दै जितेपछि सबैलाई समान रुपले सहयोग गर्ने बताए । पराजुलीले स्थानीय आवश्यकता अनुसार विकासको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गठबन्धनले जिते हेटौंडामा नै प्रदेशस्तरिय स्वास्थ्य शिक्षण अस्पताल खोल्ने पनि बताए ।