२०८१ बैशाख १७, सोमबार    

विपद्मा उद्धार र राहतका लागि कांग्रेस वाग्मती प्रदेशको अपिल

२०८० श्रावण ३०, मंगलबार १४:१७ बजे

अविरल बर्षाका कारण बागमती प्रदेशमा भएको प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले अपिल गरेको छ ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै राहतका लागि आग्रह गरेको हो ।

निरन्तर वर्षाका कारण पहाडी भू–भागमा पहिरो र नदिहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसैले बागमती प्रदेश सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाब्य जोखिमबारे पुर्व जानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु जरुरी छ । यसका लागि प्रदेश सरकार अन्तरर्गतका निकायहरूलाई जोखिमी क्षेत्रहरूको निगरानीका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नु आवश्यक छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपुर्ति प्रदान गर्न कुनै पनि कसर नराख्न र तयारी अवस्थामा रहन बागमती प्रदेश सरकारसंग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ ।