२०८१ बैशाख १३, बिहीबार    

प्रदेशसभाको वैठक १० गते बस्ने

२०७९ फाल्गुन ९, मंगलबार ०७:५५ बजे

वाग्मती प्रदेशसभा बैठक आगामी फागुन १० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै प्रदेशसभा बैठक आह्वान गरेको हो । 

प्रदेशसभा बैठक १० गते बुधबार दिउँसो २ः१० बजे बस्नेछ । उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरुको प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको.प्रदेशसभा सचिवालय बागमती प्रदेशका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसँग सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिने उनले बताए । यसअघि राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेशलाई निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।

प्रदेशसभाको बैठकमा अन्य कार्यसूची तयार पार्न सोही दिन बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । सो बैठकले प्रदेशसभा बैठकको कार्यसूचिलाई अन्तिम रुप दिने प्रवक्ता गुप्ताले बताए । प्रवक्ता गुप्ताको अनुसार प्रदेशसभाको बैठकमा संसदीय समितिको गठन गर्ने कार्यसूची राख्ने नराख्ने भन्नेबारे निर्णय पनि सोही कार्यव्यवस्था परामर्श समितिले गर्नेछ ।

संसदीय समितिको विषयमा दलहरुबीच सहमति हुन नसक्दा गत माघ २६ गते बसेको प्रदेशसभा बैठक हालसम्म पनि बस्न सकेको थिएन । गत २३ गते संसदीय समिति गठनका लागि आह्वान गरिएको प्रदेशसभा बैठक भागबण्डा नमिल्दा बस्नै सकेको थिएन । बैठक बस्न नसकेपछि पूर्व निर्धारित कार्यसूची अनुसार प्रदेश प्रमुखको सम्बोधनका लागि माघ २६ गते प्रदेशसभा बैठक बसेको थियो ।

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय समितिको नेतृत्वको भागबण्डा मिल्न नसक्दा प्रदेशसभा बैठक अवरुद्ध भएको थियो । संसदीय समितिको नेतृत्व प्रतिपक्ष दलहरुले पाउनुपर्ने कांग्रेसको अडान रहेको छ भने सत्तापक्ष दलहरु सार्वजनिक लेखा समिति बाहेक कुनैपनि समितिको नेतृत्व प्रतिपक्षलाई दिन नसकिने पक्षमा अडान राखेको छ । सत्तारुढ दलबाट एमालेले २, माओवादी केन्द्रले २, राप्रपाले २ वटा समितिको नेतृत्वमा दावी गरेका छन् भने हाम्रो नेपाली पार्टीलाई पनि एउटा समितिको नेतृत्व दिएर सत्तामा सामेल गर्ने तयारी गरिएको छ । 

बागमती प्रदेशसभामा ५ वटा विषयगत समितिहरु रहेका छन् । प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति, उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।