२०८१ बैशाख १४, शुक्रबार    

दुई महिनादेखि सामूहिक बलात्कार गरेको आरोपमा हेटौंडाका एक जना पक्राउ

२०७९ जेठ २६, बिहीबार १२:५८ बजे

हेटौंडा/ युवतीमाथि दुई महिनादेखि सामूहिक बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ चौधघरेका ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय,चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । जेठ २४ गते घलानविरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भएकै दिनमा चितवनको भण्डराबाट उनलाई पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए ।

प्रहरीका अनुसार घलानले पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई चैतदेखि बलात्कार गर्दै आइरहेका थिए ।

जिल्लाबाहिर काम गर्दै आइरहेकी २७ वर्षीया युवती गएको चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्‍याई दिने भन्दै आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।

युवतीको स्वास्थ्यमा समस्या देखिएपछि घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्‍याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।

बलात्कारमा संलग्न तीन जनाको खोजी कार्य भइरहेको र घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।