२०८१ बैशाख २१, शुक्रबार    

उपाधि रक्षा गर्ने दाउमा भिड्दै पिप्ले

२०७८ चैत्र १३, आईतबार १०:२९ बजे

सर्लाहीमा जारी छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार साविक विजेता हेटौंडाको पिप्ले युवा क्लव र ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवबीच फाइनल खेल हुँदैछ ।

पिप्लेले आयोजक वाग्मती युवा क्लवलाई टाइब्रेकरमा र मछिन्द्रले सुदूरपश्चिम ११ धनगढीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । फाइनल अघि शनिबार भएको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दावी गरेका छन् । पिप्ले दोस्रो बर्ष पनि उपाधि जित्ने दाउमा हुनेछ भने मछिन्द्र पहिलो पटक उपाधि जित्ने योजनासहित मैदान उत्रिनेछ । वाग्मती युवा क्लव सर्लाहीको आयोजना एवम् वाग्मती नगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन् । पिप्लेले ‘ए’ डिभिजनबाट खेलिसकेका विदेशी खेलाडी मार्टिन्ससहित अशोक खवास, राजेन्द्र रावल, ऋतिक खड्का, कुलदीप कार्की, अमिर श्रेष्ठ लगायतका नाम चलेका खेलाडी समेटेर टिम बनाएको छ भने मछिन्द्रमा अधिकांश राष्ट्रिय टिमका खेलाडीहरु रहेका छन् ।

‘फाइनल खेलको लागि हामी तयार छौं । दोस्रो बर्ष पनि उपाधि नजिक पुगेका छौं’, पिप्ले युवा क्लवका प्रशिक्षक सुविन घिमिरेले भने, ‘स्टार खेलाडीहरुलाई निराश बनाउँदै यो बर्ष पनि उपाधि मकवानपुर नै ल्याउनेछौं भन्नेमा विश्वस्त छु ।’ उनले आफ्ना खेलाडीले सन्तोषजकन प्रदर्शन गर्दै आएको भन्दै फाइनलमा थप सुधारिएको खेल्दै सोही अनुसारको रणनीति प्रस्तुत गर्ने बताए ।