२०८१ जेठ ४, शुक्रबार    

चेपाङ मन्त्रीको सत्ता अनुभव : काम गर्न सहजै भइरहेको छ

२०७८ माघ ८, शनिबार १५:३८ बजे

हेटौंडा/ अतिसीमान्तकृत चेपाङ समुदायबाट पहिलो पटक राज्यसत्ताको नेतृत्व गर्ने अवसर प्राप्त गर्ने व्यक्ति हुन्, सन्त चेपाङ ।

उनी वाग्मती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री बनेको एक महिना पूरा भएको छ । पुस ९ गते मुलुकमै पहिलो पटक चेपाङ समुदायबाट राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसवीचमा उनले धेरै कामको सुरुवात भएको दावी गरेका छन् । ‘अघिल्लो सरकारले बजेट ल्याएको हो । हामीले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै कामको थालनी गरेका छौं ।’, उनले आफ्नो गाउँपालिका जाने बाटोका लागि प्रदेश सरकारबाट एक अर्ब रुपैयाँ बराबरको वहुवर्षे बजेट विनियोजन गर्ने काममा आफू केन्द्रीत भइरहेको दावी गरे ।

लामो समयदेखि पार्टी र विभिन्न संघसंस्थाको नेतृत्व तहमा बसेर काम गरेका कारण मन्त्रालयमा आफ्नो जिम्मेवारी सहज ढंगबाट सम्पन्न गर्न सफल भइरहेको उनले बताए । ‘मसँग अनुभव थियो । त्यसले गर्दा सजिलो भयो ।’, उनले अब राक्सिराङ र कैलाशमा आवासीय सुविधासहितको विद्यालय पूर्वाधारको विकास गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताए । ‘चेपाङ र पिछडिएको समुदायको बालबालिकाको हितमा कानुन निर्माण गर्नु मेरो दायित्व हो । त्यसमा पनि ध्यान दिनेछु ।’, उनले भने । धिराङ मकवानपुरको अत्यन्त विकट बस्तीकासन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । सिंगो चेपाङ समुदायको निम्ति आफूले काम गर्ने उनले बताए । ‘सरकारले घरभाडाबापत दिने पैसावाट चेपाङहरुको स्वास्थ्य वीमा गरिदिने तयारी गरेको छु ।’

चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चेपाङ समुदायमा १२ वर्षको उमेरदेखि नै विवाह हुने गर्छ ।
८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध छन् । त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए । कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्लादेखि केन्द्रसम्मको जिम्मेवारी बहन गरिसकेका छन् ।

पहिलो संविधानसभा सदस्य एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र माओवादीबाट गोरखाकी राममाया चेपाङ बन्न सफल भएका थिए । दोस्रो संविधानसभामा चेपाङहरुको उपस्थिति नै रहेन । मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य समेत हुन् । २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ ।