२०८१ बैशाख १५, शनिबार    

मकवानपुरमा ठूला दलले टुंग्याए संघीय सांसद सिफारिस

२०७९ भाद्र २१, मंगलबार १९:३० बजे

४ मंसिरमा हुने निर्वाचनका लागि चार ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारका लागि नाम सिफारिस टुंग्याएका छन्। मकवानपुरको २ क्षेत्रका लागि प्रतिनिधिसभा सांसदको उम्मेदवार बनाउन चार ठूला दलहरूले प्रदेश तहमा नामावली सिफारिस टुंग्याएका हुन्। 

कांग्रेसबाट क्षेत्र नछुट्याई सिफारिस

कांग्रेस मकवानपुरको कार्य समिति बैठकले केन्द्रीय सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वसभापति माइकल रामचन्द्र अर्याल र जयराम लामिछानेको नाम दुई क्षेत्रका लागि नाम सिफारिस गरिएको छ जिल्ला सचिव भीमसेन महतले जानकारी दिए। सचिव महतका अनुसार यी चारमध्ये दुईजना एक–एक क्षेत्रबाट उम्मेदवार बन्नेछन्।

एमालेले पठायो आठजनाको नाम  

यसैगरी, नेकपा एमाले मकवानपुरले पनि प्रतिनिधिसभा सांसदका लागि नाम सिफारिस गरिसकेको छ। एमालेले क्षेत्र नम्बर १ को लागि पाँचजनाको नाम सिफारिस गरेको छ। एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि ३ जनाको नाम एमालेले सिफारिस गरेको छ। महेशकुमार बर्तौला, सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम उम्मेदवार बनाउन नाम प्रदेश कमिटीमा पठाइएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए।

माओवादीमा थोरै आकांक्षी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरू चयनको लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला पार्टी कार्यालय हेटौँडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ पूर्वसभासद प्रल्हाद लामिछाने, जीवन गोले, वसन्तकुमार लामालाई सिफारिस गरेको छ। क्षेत्र नम्बर २ को लागि पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र पार्टीका पोलिटब्युरो सदस्य कुमारी मोक्तानलाई सिफारिस गरेको छ। 

नेकपा एसबाट क्षेत्र नम्बर २ मा विरोध खतिवडा मात्र

नेकपा एकीकृत समाजवादी मकवानपुरले प्रदेश तहमा क्षेत्र नम्बर २ बाट पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाको मात्र नाम सिफारिस गरेको छ। गठबन्धनमा खतिवडा नै उम्मेदवार बन्ने सम्भावना बढेपछि नेकपा एसले उनको मात्र नाम सिफारिस गरेको हो। क्षेत्र नम्बर १ का लागि धनप्रसाद गौतम, यादव गजुरेल र विशभ अधिकारीको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ। 

कमल थापा राप्रपा नेपालबाट एक्लो सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले जिल्लाबाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम मात्र सिफारिस गरेको छ। थापाको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन उनको एकल नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाटै यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए। उनी नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए।