हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्वयम् उम्मेदवारी घोषणा नगर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । पछिल्लो समय मकवानपुरमा कांग्रेस नेताहरुले स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्ने लहर चलेसँगै उनले यस्तो निर्देशन दिएका हुन् ।
नजिकिँदै गरेको स्थानीय निर्वाचन जागरण घोषणासभा कार्यक्रमअन्तर्गत् आइतबारबाट सुरु हुने ‘घरघर जाउ, कांग्रेस जिताउ’ अभियानको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामाले जिल्लाको शीर्ष तहकै नेताले आफंै उम्मेदवारी घोषणा गर्दा मतदाता अन्यौलमा पर्ने बताए ।
‘यस विषयलाई रोक्न पार्टीबाट निर्देशन भएको छैन । पार्टीको उम्मेदवार पार्टीले तयार गर्ने हो । पार्टीभित्र रहेको साथीले आधिकारीकता नभएसम्म घोषणा नगर्दा राम्रो हुन्छ ।’, उनले भने,‘पार्टीको नीति अनुसार चल्नुपर्छ । आफूलाई केन्द्रविन्दुमा राखेर घोषणा गर्नुहुँदैन ।’
उनले चैतको अन्तिम साताभित्रमा उम्मेदवारी घोषणा भइसक्ने पनि दावी गरे । ‘हामी चैतको अन्तिम साताभित्र उम्मेदवारी तय गरिसक्छौं । जसको कारणले जनतामा जान सजिलो हुन्छ ।’, लामाले भने ।