२०८१ बैशाख २९, शनिबार    

पुरिएका २ जनाको शव ३ महिनापछि भेटियो

२०७९ बैशाख ७, बुधबार १८:४५ बजे

धादिङको बिकट वस्ती रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा पहिरोमा पुरिएका २ जनाको शव बुधबार फेला परेको छ ।

सडकको नयाँ ट्य्राक खन्ने क्रममा डोजरसहित पहिरोमा पुरिएका डोजर चालक मकवानपुरका पूर्ण बहादुर रुम्बा र स्थानीय धन तामाङको शव सडेगलेको अवस्थामा फेला परेको धादिङका प्रहरी नायव उपरीक्षक (डिएपी) जागेश्वर भण्डारीले बताए । बेपत्ताहरुले लगाएको कपडाको आधारमा शव पहिचान हुने उनले बताए । खन्दै गरेको सडक भन्दा तल खोलामा पुरिएको डोजरसँगै दुबै जनाको शव भेटिएकोभण्डारीले जानकारी दिए ।

गतपुष २९ गतेको पहिरोमा ३ जना पुरिएका थिए । त्यसमध्ये सहचालक राजु तामाङको २ दिनपछि भेटिएको थियो । डोजर चालक रुम्बा र स्थानीय तामाङ बेपत्ता नै थिए । पहिरोबाट डोजर निकाल्ने क्रममा दुबै शव भेटिएको स्थानीय टेक घलेले बताए । ढुंगामाटो पन्छाउँदै डोजरका सामानहरु निकाल्ने क्रममा कुहिएको जस्तो गन्ध आउन थालेपछी खोतल्दै जाँदा टाउको र शरीरका हाडहरु मासु कुहिसकेको अवस्थामा भेटिएको उनले बताए ।

चालक रुम्बाको शव लिन आफन्त आउँदै गरेको र तामाङको शव उनका आफन्तलाई जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।