२०८१ बैशाख १६, आईतबार    

मेयर लामाको सम्पत्ति : १५ तोला सुन, श्रीमान्‌को ४० लाख ऋण

२०७९ श्रावण १०, मंगलबार ०८:१९ बजे

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सम्पत्ति विवरणमा उनले आफूसँग १५ तोला सुन रहेको बताएकी छन्। लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखामा रहेको छ ।

मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको जनाएकी छन्। मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको जनाएकी छन्।

श्रीमान्‌काे नाममै ४० लाख बराबरको ट्याङ्कर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनका श्रीमान् सुनबहादुर लामा भने व्यवसायी हुन्। उनले ससुरा कान्छा लामाको नाममा हेटौँडा–१ चाइना क्वाटरमा ११ धुर घडेरी, सासु सानुमैयाको नाममा सवा १० धुर घडेरी र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख गरेकी छिन्।

छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको लामाको भनाई छ।

नेकपा (एकीकृत समाजवादी) मकवापुरकी उपाध्यक्षसमेत रहेकी उनी गठबन्धनबाट हेटौँडाको मेयरमा निर्वाचित भएकी हुन्। लामा पहिलो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरको उपमेयर थिइन्।