२०८१ बैशाख ७, शुक्रबार    

चौकिटोलमा सारियो बसपार्कको तरकारी बजार

२०७९ मंसिर २५, आईतबार १२:४७ बजे

हेटौंडा–१०, बसपार्कमा रहेको थोक तरकारी बजारलाई चौकीटोलमा सारिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारिएको हो । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा उक्त स्थानमा एकसय ६ जना व्यवसायीका लागि स्टल निर्माण गरिएको हो ।

बजार निर्माणमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा ३६ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । बजार निर्माण गर्न थोक विक्रेताले प्रतिव्यवसायीसंग २ लाख रुपैयाँ संकलन गरिएको थियो । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न करिब ३ बिगाह जग्गा उपलब्ध गराएको थियो ।

तरकारी बजारको उद्घाटन गर्दै मेयर मीनाकुमारी लामाले बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘बजारलाई व्यवस्थित गर्ने काममा हामीले काम गरिरहेका छौं । ठाउँ सारेर व्यापारमा समस्या हुन्छ भन्ने नसोच्नुस् उपमहानगरपालिका सहयोगी बन्छ । ’, मेयर लामाले अब बिस्तारै उपमहानगरपालिका क्षेत्रका बजारलाई व्यवस्थित बनाउने काममा लाग्ने बताइन ।

उपमेयर राजेश बानियाँले तरकारी बजार र व्यवसायीलाई व्यवस्थित ढंगबाट काम गर्ने वातावरण तयार पार्ने बताए । ‘कृषि र पर्यटन जोडेर जान आवश्य छ ।’, उनले बजारलाई व्यवस्थित गर्दा रोजगारीको अवसर पनि सिर्जना भएको बताए ।

उद्घाटन कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष राजकुमार न्यौपाने र तरकारी व्यवसायी संघ अध्यक्ष खड्गबहादुर मोक्तानलगायतले मन्तव्य व्यत्त गरेका थिए ।
तरकारी बजार पूर्णरुपमा मंसिर २८ गतेभित्र उक्त स्थानमा सरिसक्नेछ ।