२०८१ बैशाख १५, शनिबार    

मकवानपुरका यी उम्मेदवार जसले पाउँदैनन् आफैँलाई भोट हाल्न

२०७९ आश्विन ३१, सोमबार ११:३२ बजे

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तर्क्रियामा व्यस्त हुन थालेका छन् ।

आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन्। तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न पाउने अवस्थामा छैनन् ।

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।  तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।

मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउनेछैनन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी डिनाको मतदान केन्द्र क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका–७ मा रहेको श्री मावि मेलटारमा रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खतिवडाले क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यसैगरी, नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)बाट उम्मेदवार बनेका एकलाल श्रेष्ठले पनि आफूलाई मत दिन पाउँदैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर २ (क)मा रोपवे भवन चौकिटोल मतदान केन्द्रमा रहेको छ ।

सत्तागठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मुक्तानले पनि आफूलाई मत दिन पाउँदिनन् । क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ (क)मा रहेको कमला निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने क्षेत्र नम्बर २ (क)बाट उम्मेदवार बनेकी मुक्तानले क्षेत्र नम्बर १ (ख)बाट मतदान गर्नेछिन् ।