२०८१ जेठ ५, शनिबार    

कानुनीरुपमै गाँजा खेती गर्ने बाटो खुल्दै

२०७८ फाल्गुन १२, बिहीबार १४:३० बजे

लागूऔषध गाँजालाई औषधिको रुपमा प्रयोग गर्न दिनेगरी सरकारले कानुन निर्माणको तयारी अघि बढाएको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाएको बताइएको छ ।

गृह मन्त्रालयले तयार पारेको विधेयक मंगलबार गृहमन्त्री बालकृष्ण खााणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्री वितरण र निकासी कसरी गर्ने र त्यसको नियमन गर्ने विषय समेटिएको उनले बताए ।

यस विधेयक लागू भए लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ । ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने बताइएको थियो ।