२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रिय सभा निर्वाचनमा राप्रपाले मतदान नगर्ने

२०७८ माघ ११, मंगलबार १८:०६ बजे

हेटौंडा/ राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मतदान नगर्ने भएको छ ।

राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय लिएको हो । वाग्मतीमा विवेकशील साझा पार्टीले पनि मतादान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाका महामन्त्री भुवन पाठकले प्रदेश १ बाहेकका प्रदेशमा पार्टीबाट उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने जानकारी दिए ।
‘राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो,’ राप्रपाको निर्णय छ । राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते बुधबार मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ ९ गते राति १२ बजेदेखि मौन अवधि पनि सुरु भइसकेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षमा रहेको नेकपा (एमाले) र अरु साना दलबाट ४३ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

वाग्मतीमा राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता कार्कीले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् ।