२०८१ बैशाख १६, आईतबार    

महोत्सवले खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुको भनाइ

२०८० मंसिर २४, आईतबार १६:४९ बजे

मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुले बताएका छन् ।

खेल क्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएन चौरमा यहि पुस ५ गतेबाट खेलकुद तथा व्यापार महोत्सव हुँदैछ ।

महोत्सवमा खेलकुदसँग सम्बन्धित विभिन्न १३ वटा बिधामा प्रतिस्पर्धा समेत हुनेछ । आयोजकले महोत्सवको तयारीलाई तीव्र पारेको छ ।

खेल र खेलाडीको हकहितमा काम गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सव सफल पार्न सबैले सहयोग गर्नुपर्ने पूर्व अध्यक्षहरुले बताएका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीले सामान्य चोटपटक लाग्दा उपचार गर्न नसक्ने अवस्था खेलाडीको रहेको जानकारी दिँदै उनीहरुको लागि काम गर्ने उदेश्यले महोत्सव गर्न लागिएको जानकारी दिए ।

‘पैसाको अभावमा खेल्न जान सकिएन, उपचार गर्न सकिएन भन्दै खेलाडीहरु चिठी बोकेर आउने गरेका छन् । हामीले सिफारिस बनाइदिने र टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेका छैनौं’,अध्यक्ष खड्गी भन्छन्, ‘महोत्सवबाट बचेको रकम खेलाडीको बीमा, उनीहरुको उपचार र खेलकुदकै लागि प्रयोग गरिनेछ ।’ खेलकुद विकास समितिका पूर्व अध्यक्ष प्रभात दाहालले महोत्सवको उदेश्य क्लियर भएकोले सबैले सहयोग गर्नु जरुरी रहेको बताए ।

‘वर्तमान कार्यसमितिले राम्रो सोचाईका साथ महोत्सव आयोजना गर्न लागेको छ । यसमा हामी पूर्व अध्यक्षहरुको साथ, सहयोग रहनेछ’, दाहालले भने, ‘सबैबाट सहयोगको अपेक्षा गर्दछौं ।’ महोत्सवको प्रचारप्रसार, महोत्सव स्थलको सरसफाई, सामान ल्याउने लगायतका काम तीव्र भैरहेको छ । यस्तै खेलकुद विकास समितिका अर्का पूर्व अध्यक्ष बालकृष्ण चौलागाईंले यो खेलकुद महोत्सव भएकोले कसैले बिरोध गर्नु आवश्यक नरहेको बताए । ‘खेलकुदसँग सम्बन्धित संस्थाले खेल महोत्सव आयोजना गर्न लागेको हो’, चौलागाईंले भने, ‘यसले पक्कै जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पुर्याउनेछ ।’ महोत्सवका लागि सबै पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिती निर्माण गरिएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हुन लागेको महोत्सवबाट करिब २५ लाख रुपैयाँको कोष निर्माण गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिको लक्ष्य रहेको छ । महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय खेलकुद प्रतियोगितासहित राष्ट्रिय कलाकारहरुको प्रश्तुती, बाल उद्दान, लाइभ दोहोरी सहित व्यवसायिक स्टल रहनेछ ।