२०८० चैत्र १५, बिहीबार    

वाग्मतीमा मुख्यमन्त्री फेरबदलको चर्चा : सहमति कार्यान्वयन गर्न कांग्रेसको दबाब

२०७९ असार ९, बिहीबार १७:५८ बजे


तत्कालीन नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गठबन्धनबाट पाण्डेलाई मुख्यमन्त्री स्विकार्दा ६ महिनापछि नेतृत्व फेरबदल गर्ने सहमति भएको भन्दै कांग्रेसले सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ।

कांग्रेसले प्रदेश सभाको चुनावी मिति घोषणा अघि नै सहमति कार्यान्वयनका लागि गठबन्धनभित्र छलफल अघि बढाउन दबाब दिन थालेको हो। ११ कात्तिक २०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले ६ महिनापछि नेतृत्व छाड्ने सहमति भएको थियो। कांग्रेसले संसदीय दलका आफ्ना नेता इन्द्रबहादुर बानियाँलाई सत्तारुढ गठबन्धनका दलहरूको समर्थनमा मुख्यमन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिइरहेको छ। माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादी एकसहित ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए।

५९ सांसदकै समर्थनमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पारित भएलगत्तै बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसले छलफलसमेत सुरु गरिसकेको छ। सहमतिलाई आधार बनाएर बानियाँलाई मुख्यमन्त्री बनाउन छलफल थालेको कांग्रेसले मन्त्री परिवर्तनबारे भने गृहकार्य गरेको छैन।

कांग्रेस ससंदीय दलका नेता बानियाँले सहमतिअनुसार अब आफू मुख्यमन्त्री हुनुपर्ने बताए। ‘आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति भएको थियो,’ उनले भने, ‘प्रदेश सरकारको कार्यकाल सकिने आधा अवधि एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र आधा अवधि कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने सहमति भएको थियो,’ उनले भने।

मुख्यमन्त्री परिवर्तन हुँदा आफू सरकारको नेतृत्वमा रहने ९९ प्रतिशत पक्का भइसकेको बानियाँको दाबी छ। कांग्रेस केन्द्रीय नेतृत्वसँग छलफल हुँदा २५ असारपछि निर्णय गर्ने भनिएकाले आन्तरिक छलफल मात्र भइरहेको उनले बताए। ‘प्रदेश सभा निर्वाचनको मिति असारभित्रै घोषणा हुने सम्भावना प्रबल छ। त्यसकारण चुनावको मिति घोषणा अघि केन्द्रीय नेतृत्वको मुख्यमन्त्री फेरबदल टुंग्याउने भनिएको छ,’ उनले भने।

फेरबदलबारे म जानकार छैन : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने सरकारको नेतृत्व फेरबदलबारे आफू जानकार नभएको बताएका छन्। उनले तत्कालीन अवस्थामा मुख्यमन्त्री फेरबदल हुने सम्भावना नदेखिएको जिकिर गर्दै आफू जानकार नभएको प्रतिक्रिया दिए।

‘मुख्यमन्त्री फेरबदलबारे म जानकार छैन,’ उनले  भने, ‘आधा–आधा कार्यकाल मुख्यमन्त्री हुनेबारे हाम्रो तहबाट सहमति भएको छैन। शीर्ष नेताहरूले सहमति गरेका रैछन् भने मलाई थाहा भएन।’ पाण्डेले शीर्ष नेताहरूबाट आफू मुख्यमन्त्री रहने वा नरहनेबारे निर्णय आएमा आफू मान्न तयार रहेको बताए। शीर्ष नेतृत्वबाटै यो विषय टुंगिनैपर्ने बताउँदै उनले हल्ला मात्रबाट नहुने बताए।

सहमति कार्यान्वयन गर्नुपर्छ : जम्कट्टेल

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदा प्रदेश सरकारको एक वर्ष बाँकी अवधिमा आधा–आधा समय मुख्यमन्त्री बन्ने सम्झौता भएको उल्लेख गर्दै उनले सोहीअनुसार पाण्डेले सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए।

‘आधा अवधि राजेन्द्र पाण्डे र आधा अवधि इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सम्झौता भएको हो,’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले सम्झौता कार्यान्वयन गर्नुपर्छ। राजनीतिमा इमानदारितालाई मध्यनजर गर्दै सम्झौता कार्यान्वयनमा जोड दिएर मुख्यमन्त्रीज्यूले गठबन्धनलाई थप बलियो बनाउनुपर्छ।’ जम्कट्टेलले मुख्यमन्त्री फेरबदलबारे सम्झौतामा प्रस्ट पारिएकोले त्यसतर्फ जोड आवश्यक रहेको र तत्काल मन्त्रिपरिषद् नै परिवर्तन भने नहुने बताए।