२०८१ जेठ ८, मंगलबार    

प्रजातन्त्र दिवसको कार्यक्रममा एमाले सहभागी भएन

२०७८ फाल्गुन ७, शनिबार १०:११ बजे

हेटौंडा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वाग्मती प्रदेश सरकारले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा असहभागिता जनाएको छ ।

वाग्मती प्रदेश सरकारले तीनदिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरे अनुसार शनिबार विहान शुभकामना आदानप्रदान कार्यक्रम रहेको थियो । मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेका नेता, कार्यकर्ता तथा सांसद कोही पनि सहभागी भएनन् । कार्यक्रम सञ्चालकले पनि विपक्षी दललाई आसन ग्रहण गराएनन् ।

शुभकामना आदानप्रदानका लागि बनाइएको मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्य मन्त्री निमा लामा मात्र अटाएका थिए । हाल वाग्मती प्रदेशमा तीन दलको गठबन्धन सरकार रहेको छ । सोही अनुसार मञ्चमा पाण्डे नेकपा (एकीकृत समाजावादी), जम्मकट्टेल नेकपा माओवादी केन्द्र र लामा नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी भएका मात्र मञ्चमा अटाएका थिए ।

विपक्षी दलका नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी नभएपछि अधिकांश कुर्सी खाली रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गरेका थिए ।