२०८१ बैशाख १५, शनिबार    

मंसिर १ गते मनहरीमा गठबन्धनको आमसभा

२०७९ कार्तिक २९, मंगलबार १०:२५ बजे

लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ ।

मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई निम्त्याउने तयारी भइरहेको पनि कालाखेतीले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको बताए । निर्वाचन तयारीको क्रममा आम नागरिकको घरदैलोमा पुगिरहेको भन्दै उनीहरुले गठबन्धनकै पक्षमा मतदान गर्नेमा विश्वस्त भएको बानियाँले बताए ।

‘बिगतको स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि मेरो क्षेत्रका ३० वटा वडामध्ये २३ वटा वडामा गठबन्धन दल विजयी भएको छ । सोही मतलाई आधार मान्दा पनि धेरै अन्तरमा हाम्रो जीत हुने सुनिश्चित भइसकेको छ ।’ बानियाँले भने । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, माओवादी नेता बीरबहादुर घलान –ज्वाला), रेखा पुलामीलगायतकाको उपस्थिति रहेको थियो ।