२०८१ जेठ ४, शुक्रबार    

क्यानडालाई हराउँदै नेपाल समूह विजेता

२०७८ फाल्गुन ९, सोमबार १८:१६ बजे

नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरि नेपाललाई विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाए ।

ओपनर आसिफ शेख १७ रन बनाई आउट भए । सल्मान नजरको बलमा एलबीडब्लु आउट भएका उनले १६ बल खेली १ चौका र १ छक्का प्रहार गरे । तेस्रो नम्बरमा पठाइका कुशल मल्ल आफुले सामना गरेको पहिलो बलमै कलिम सानाको बलमा बोल्ड भए ।

नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ । विजयी हुने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।

आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनलमा खेल्ने छ ।