२०८१ बैशाख २८, शुक्रबार    

मीना लामा मेयरको उम्मेदवार तय

२०७९ बैशाख १०, शनिबार १७:३० बजे

नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयरको टुङ्गो लगाएको छ । शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष हुन् । ‘हिजो नै हामीले उम्मेदवार टुङ्गो लगाएका हौं,’ एक पदाधिकारीले भने । त्यसैगरी काठमाडौं महागरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ युवा संघका नेता हुन् ।

त्यसैगरी हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयर उम्मेदवार बनाउने भएको छ । लामा अहिले उपमेयर छिन् । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशव विष्टलाई उम्मेदवार निर्णय गरेको छ । विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन् ।

त्यस्तै एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ । उनी पार्टीका बुटवल नगरअध्यक्ष हुन् भने यसअघिको स्थानीय चुनावमा वडासदस्यमा निर्वाचित भएका थिए ।

 त्यसैगरी एकीकृत समाजवादीले दाङको घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर रानालाई उम्मेदवार बनाउने भएको छ । राना दाङ जिल्ला कमिटीका अध्यक्ष हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर, हेटौंडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार पाएको छ ।