२०८१ बैशाख २७, बिहीबार    

निकले मनहरीमा ५० करोड खर्चेर उद्योग स्थापना गर्दै

२०७८ फाल्गुन १८, बुधबार १२:२९ बजे

हेटौंडा/ नेपाल इकरात इञ्जिनियरिङ (निक) ले करिब ५० करोड रुपैयाँ खर्चेर उद्योग विस्तार गर्ने तयारी अगाडि बढाएको छ ।

तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन गर्दै आएको कम्पनीले मनहरी गाउँपालिकामा चार बिघा जग्गामा उद्योग विस्तार गर्ने तयारी अगाडि बढाएको हो । मनहरीमा स्थापना गरिने उद्योगबाट ठूलो ट्रान्सफर्मर उत्पादन गर्ने योजना कम्पनीले बनाएको प्रबन्ध निर्देशक कुशकुमार जोशीले जानकारी दिए । उनका अनुसार करिब ५० करोड लगानी गरेर नयाँ उद्योग स्थापनाको प्रक्रिया सुरु भइसकेको छ ।

निकको उद्योग हाल हेटौंडा–११, थानाभर्‍याङमा एक बिघामा क्षेत्रफलमा आफ्नो उद्योग स्थापना गरेको छ । कम्पनीले विद्युत वितरण ट्रान्सफर्मर उत्पादन गर्ने गेको छ । ‘ठुला र विद्युत जेनेरसन ट्रान्सफर्मर उत्पादनका लागि ठाउँ साँघुरो भएपछि उद्योग विस्तार गर्न लागिएको हो ।’, जोशीले नेपालमा चाहिने सबै खालका ट्रान्सफर्मर उत्पादन गर्न सक्ने कम्पनी बनाउने योजना रहेको बताए ।

मनहरीमा स्थापना हुने उद्योगबाट ४० एमभीएसम्मको ट्रान्सफर्मर उत्पादन गर्ने लक्ष्य लिइएको छ । ‘हामीले १० एमभीएको ट्रान्सफर्मर उत्पादन गर्दै आइरहेको थियौं । अब प्राधिकरण र जलविद्युत कम्पनीलाई चाहिने ४० एमभीएको ट्रान्सफर्मर उत्पादन गरेर विदेशबाट हाल भइरहेको आयात रोक्ने योजना हामीले बनाएका छौं ।’, उनले भने ।

निकले हाल नेपाल विद्युत प्राधिकरण बाहेक वार्षिक रूपमा १५०० देखि २००० वटासम्म ट्रान्सफर्मर बिक्री गरिरहेको छ । सामुदायिक खानेपानी, नेपाल टेलिकम, एनसेल, भाटभटेनी सुपरमार्केट लगायत निकका लामो समयदेखिका ग्राहक हुन् ।