लामो विदाको यो समय कैलालीका मावि तहमा अध्ययनरत बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन् । विद्यार्थी सिजर्नशिल हुन्छन् । उनीहरुका लागि रहेक समय सिर्जनात्मक हुनु आवश्यक छ । कैलालीका केही विद्यार्थीले दसैँ तिहार विदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रुपमा मनाएका छन् ।
पढाइको रफ्तार चलिरहेका बेला एक महिन बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन् । कक्षा १० मा अध्ययनरत महेश साउँदले दसैँ तिहार विदामा पढ्नमै समय विताउनुभयो । ‘‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो । मैले पढाईमा मात्र ध्यान दिए”, उहाँ भन्नुहुन्छ, “घरबाट बाहिर जान अनुमति थिएन, त्यसैले घरमै बसेर पढाइमा ध्यान दिए ।”
वीरेन्द्र विद्या मन्दिरमा अध्ययनरत रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताउनुभयो । “मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिके”, उहाँ भन्नुहुन्छ, “पढाइमा पनि ध्यान दिए, पेन्टिङ गर्न, चित्र बनाउन सिके । यो समय मेरा लागि सिर्जनशील रह्यो ।”
लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ । त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ । बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन् । कक्षा १० मै अध्ययनरत प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गर्नुभयो ।
“घरको काम सिके, पसलको काममा सघाए, यसपटक रक्षा धागो बनाउन सिके”, उहाँले भन्नुभयो, “तिहारमा पकाइने परिकार बनाउनसमेत सिकेकी छु ।”
अङ्कित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताउनुभयो । जनजागृति मावि सितापुरमा कक्षा ९ मा अध्ययनरत रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे । बिदाको समयमा विद्यार्थीले पढाई सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यहीअनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउनुहुन्छ ।
“हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौँ, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ ।”