२०८१ बैशाख २४, सोमबार    

खुशीलालको समर्थन इन्द्रबहादुर बानियाँलाई

२०७९ कार्तिक १५, मंगलबार १९:२५ बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘ख’का स्वतन्त्र उम्मेदवार खुशीलाल प्रजाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो समर्थन सत्तारुढ गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई रहेको घोषणा गरेका छन् । उम्मेदवारी छनौट प्रक्रियामा गुनासो रहेका कारण माओवादी केन्द्रबाट छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । खुशीलाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष समेत हुन् ।

‘मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि म आवद्ध पार्टीका नेताहरु, लोकतान्त्रिक बाम गठबन्धनका नेताज्यूहरु सबैसित छलफल र अन्तरक्रिया गर्दा अहिले मेरो उम्मेदवारीले माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखेकोले उहाँलाई समर्थन गरेको हुँ ।’, उनले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक देखेकोले गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको बताए ।

‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुन: स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दछु ।’, उनले भने ।