२०८१ बैशाख २३, आईतबार    

स्थानीय निर्वाचन : गठबन्धन एक, समस्यामा एमाले

२०७८ फाल्गुन २३, सोमबार १७:४४ बजे

हेटौंडा/ मकवानपुरमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन एक भएर अगाडि बढ्ने भद्र सहमति भएको छ ।

हाल सत्तगठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) स्थानीय तहको निर्वाचनमा मकवानपुरमा एउटै कित्तामा उभिएर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् । हेटौंडा र काठमाडौंमा भएको विभिन्न चरणको छलफलमा तीनवटै दल एक ढिक्का भएर अगाडि बढ्ने सहमति भएको विश्वासिलो स्रोतले जनाएको छ ।

स्रोतका अनुसार फागुन महिनाभित्रमा तीनवटै दलको वडा तहमा भएको मत परिणाम संकलन गर्ने, संगठन विस्तार गर्ने र रणनीति बनाउने तय भएको छ । चैत भित्रमा स्थानीय तह र वडा नै भागबण्डा गरेर अगाडि बढ्ने गठबन्धनको रणनीति रहेको छ । मकवानपुर जिल्लामा सांगठनिकरुपमा नेकपा एमाले बलियो भएको अवस्थामा सहज जीत हात पार्न गठबन्धन एक हुनुको विकल्प नभएको निष्कर्षमा उनीहरु पुगेका छन् ।

नेकपा एसका नेता तथा स्वास्थ्य मन्त्री विरोध खतिवडा, नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश संसदीय दल उपनेता कुमारी मोक्तान तथा सांसद प्रेमबहादुर पुलामीवीच पटकपटक यस विषयमा छलफल भइसकेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीवीच आवश्यकता अनुसार स्थानीय तह र वडामा तालमेल भएको थियो ।

हाल एमाले विभाजन भएको अवस्था सवै स्थानीय तहमा गठबन्धन विजयी हुन पनि एक भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् । एमाले एक्लै चुनावमा होमिने भनेर आन्तरिक तयारीमा जुटिसकेको छ ।