२०८३ श्रावण ११, सोमबार    

हेटौंडाको मेयरमा राप्रपाबाट मधु अधिकारी एक्ला दाबेदार

२०७९ बैशाख ३, शनिबार १५:४३ बजे

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हेटौंडा उपमहानगरको मेयरमा मधु अधिकारी एक्लो दाबेदार देखिएका छन् ।

तीन दिनभित्र उम्मेदवार टुंगो लगाउने कसरतमा जुटेको राप्रपाबाट मेयरमा अधिकारी हालसम्म एक्लो दाबेदारका रुपमा देखिएका हुन् । २०७४ को निर्वाचनमा तत्कालीन राप्रपा नेपालको गाई चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका अधिकारीले ७ हजार मत ल्याएका थिए ।

आफु मेयरको स्वतः उम्मेदवार हुने उनको दाबी छ । यसअघिको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमाले बलियो रहेको अवस्थामा ७ हजार बढी मत ल्याउन सफल भएकोले यसपटक जितका लागि आफु एक्लो दाबेदार रहेको अधिकारीले बताए । शाहीकालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर बनेका अधिकारी राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निकट मानिन्छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेपछि राप्रपाले आफ्नो उम्मेदवारहरु तय गर्न लागेको हो ।

थापाले राप्रपाबाट बिदा लिएर राप्रपा नेपालको स्थापना गरेपनि अधिकारी भने संस्थापन पक्षको केन्द्रीय नेताको रुपमा रहेका छन् । अधिकारीले वडाको टुंगो लगाउने चरणमा रहेको र उपमेयरबारे छलफल भइरहेका जानकारी दिए ।