२०८१ बैशाख २१, शुक्रबार    

फुटबल उपाधि मकवानपुरलाई

२०७८ चैत्र ७, सोमबार १४:०३ बजे

हेटौंडा / प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा ललितपुरलाई ट्राइवेकरमा ३–० गोल अन्तरले हराउदैं मकवानपुरले शानदार जित हासिल गरेको छ ।
हेटौंडा -५ स्थित पिप्ले क्याम्प रंगशालामा आइतबार भएको फाइनल खेलको पहिलो हाफकै शुरुवाती ४ मिनेटमा ललितपुरका लागि बिक्की महर्जनले गोल गर्दै १-० को अग्रता दिलाएका थिए ।
तर, त्यो अग्रता भने धेरै बेर टिक्न पाएन । विपक्षी टिमको कमजोर डिफेन्सको फाइदा उठाउँदै मकवानपुरका लागि ७ मिनेटमै ललित चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
यस्तै खेलको पहिलो हाफको ३६ औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप १ गोल गर्दै २-१ गोलको अग्रता बनाए ।

दोस्रो हाफको ६४ मिनेटमा ललितपुरका लागि रोहित गिरीले १ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।निर्धारित समयमा पनि दुवै टिमले स्पष्ट नतिजा निकाल्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।टाइब्रेकरमा ललितपुरले कुनै पनि गोल गर्न सकेन । मकवानपुरले ३-० को गोल अन्तरले आफ्नो जित सुनिश्चित गर्‍यो ।
खेलको म्यान अफ दी म्याच मकवानपुरका गोल रक्षक अनिस देउला घोषित भए । त्यस्तै प्रतियोगिताकै बेस्ट प्लेयर अफ टुर्नामेन्टको रुपमा मकवानपुरका खेलाडी समिरराज थोकर घोषित भए , उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।


विजेता मकवानपुरले नगद १ लाख रूपैयाँसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ललितपुरले नगद ८० हजारसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता उपविजेतालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।