२०८१ जेठ ७, सोमबार    

राप्रपा नेपालले पाएन एउटै पालिका, कमल थापा पनि हेरेको हेरै

२०७९ बैशाख १५, बिहीबार १८:१६ बजे

स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन पाएन । वैशाख ११ र १२ मा स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता भए पनि कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालबाट कुनै पनि पालिका प्रमुख वा उपप्रमुखमा उम्मेदवारी परेको छैन ।

चैत ३० गते एमालेसँग पाँच बुँदे सहमति गर्दै राप्रपा नेपालले सूर्य चिन्हबाट आफ्ना उम्मेदवारले उम्मेदवारी दिने सहमति गरेको थियो । उनीहरूबीच ‘देशभरि तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने’ सहमति भएको थियो। तर राप्रपाले एउटै पालिका प्रमुख वा उपप्रमुखमा आफ्ना उम्मेदवार उठाउन पाएन ।

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए। उनले छोटो समयमा सबै जिल्लामा पार्टी समितिहरू बनेको तथा संगठन विस्तार भएको दाबी गर्दै आएका थिए।

राप्रपा नेपालका स्थानीय तह निर्वाचन परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले पार्टीबाट कहाँ, को उम्मेदवार भए भन्ने यकिन जानकारी प्राप्त भइनसकेको बताए । उनकाअनुसार पालिका प्रमुख र उपप्रमुखमा भने पार्टीबाट उम्मेदवारी परेको छैन । ‘यतिउति उम्मेदवारी पर्‍यो भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। गाउँगाउँमा तालमेल भएका छन् । यसको विवरण जिल्ला अध्यक्षहरूलाई पनि थाहा भइसकेको छैन,’ उनले सेतोपाटीसँग भने, ‘पालिका प्रमुख/उपप्रमुखमा भने हाम्रो पार्टीबाट उम्मेदवारी परेको छैन। वडाध्यक्ष र वडा सदस्यमा भने उम्मेदवारी परेको जानकारी छ ।’

उनले कुन-कुन जिल्लामा कुन पदमा उम्मेदवारी परेको भन्ने अहिलेसम्म जानकारी नआएको दाबी गरेका छन् । राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले केही जिल्लामा तालमेल भए पनि यकिन विवरण आउन समय लाग्ने बताए । ‘पाँचथर, सुनसरीलगायत जिल्लामा उम्मेदवारी परेको छ,’ उनले भने, ‘गोरखा, काठमाडौंतिर पनि हो कि... यकिन विवरण छैन । वैशाख १७ पछि थाहा होला ।’ राप्रपा नेपाल र एमालेसँग भएको चुनावी तालमेलको ४ नम्बर बुँदामा 'राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमै आवद्ध रहने' उल्लेख छ ।