२०८१ बैशाख २४, सोमबार    

बुधबारसम्मै वर्षाको सम्भावना, बिहीबारदेखि मौसम सफा रहने

२०७९ श्रावण १६, सोमबार १२:१४ बजे

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, मधेस, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेपछि ती स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् मन्जु बासीले कान्तिपुरलाई बताइन् । यो अवस्था बुधबारसम्म रहने उनले जानकारी दिइन् । बिहीबारदेखि मौसममा केही सुधार आउने उनले बताइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको उनले बताइन् ।

राति पनि देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा भएकाले ती भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (डेब‍्रिज फ्लो) को जोखिम रहेको महाशाखाले जनाएको छ ।

नदी/नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउनु पनि विभागले अपिल गरेको छ ।