२०८१ बैशाख २७, बिहीबार    

२१ वर्षदेखि हेटौंडा कपडा उद्योग अलपत्र

२०७८ माघ २, आईतबार ०८:३८ बजे

हेटौंडा/ चिनियाँ सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएको तत्कालिन सवैभन्दा ठूलो कपडा उद्योग अहिले अलपत्र अवस्थामा रहेको छ । करिब २१ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने वा लिक्विडेसनमा लैजाने भन्नेबारे सरकार मौन रहँदा त्यहाँ रहेका मेसिनहरु क्रमश: पुरानाहुँदै गएका छन् भने विभिन्न समयमा पुन: सञ्चालनका लागि नेपाल सरकारले गरेको लगानी समेत खेर गइरहेको छ ।

‘पटकपटक सरकार हेरफेर भएसँगै कहिले उद्योग लिक्विडेशनमा लैजाने, कहिले सञ्चालन गर्ने निर्णय भइरह्यो । पछिल्लो पटक सुरक्षा निकायको पोशाक उत्पादन गर्नेगरी नेपाली सेना, शसस्त्र प्रहरी वल र नेपाल प्रहरीको लगानीमा उद्योग सञ्चालन गर्ने तयारी भएको पनि रोकियो ।’, हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडका प्रमुख राजेन्द्र कडेँलले बताए । उनका अनुसार तत्कालिन समयमा करिब २० करोड रुपैयाँ बराबरको लागतमा निर्माण भएको उद्योगले २०३५ सालबाट उत्पादन सुरु गरेको थियो ।

 

हेटौंडा कपडा उद्योगमा चारसय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिण्डल छन् । ‘पुरानो मेसिन भएपनि धेरै काम लाग्ने अवस्थामा रहेको हामीले विभिन्न पटक जानकारी पाएका छौं । सरकार परिवर्तन भएसँगै यसको भविष्यको विषयमा चर्चा भइरहेको हुन्छ । तर, हालसम्म ठोस काम भने भएको छैन ।’, उनका अनुसार उद्योग सञ्चालन हुँदा करिब एकहजार दुईसय कर्मचारीले रोजगारी पाएका थिए ।

चीनको लगानीमा २०३२ सालमा निर्माण भएको हेटौंडा कपडा उद्योग २०५७ साल फागुन १ गतेबाट बन्द भएको थियो । सरकार परिवर्तन भएसँगै उद्योग सञ्चालन गर्ने वा लिक्विडेसनमा लैजाने भन्नेबारे अन्यौलहुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग हाल पूर्णरुपमा बन्द अवस्थामा पुगेको हो । लगातार घाटामा गएपछि तत्कालिन मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको उद्योगमा हाल सशस्त्र प्रहरी नेपाल गण नम्बर १४ को कार्यालय रहेको छ । उक्त स्थानमा हाल करिब तीनसय सशस्त्र प्रहरी बस्ने गरेका छन् ।

तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो उद्योग सञ्चालन गर्न आठ करोड रुपैयाँ छुट्याएको थियो । ६ करोड रुपैयाँ खर्च गरेर उद्योग मर्मत गरेर तत्कालिन समयमा कपडा उत्पादनको परीक्षण गरिएपनि आवश्यकता अनुसार कपास उपलब्ध नभएकोभन्दै उद्योग सञ्चालनमा आएन । २०६६ कात्तिकमा हेटौंडा कपडा उद्योगलाई दोस्रोपटक लिक्विडेशनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र दुईसय ३६ रोपनी जग्गामा कपडा उद्योग निर्माण गरिएको छ । यस्तै दुईसय ५६ रोपनी जग्गामा आवास बनेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ती शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । हाल उद्योग लिमिटेडले नै रेखदेख गरिरहेको छ । उद्योगका धेरै मेसिन हाल पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको छ। उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । तत्कालिन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो ।

हाल हेटौंडा कपडा उद्योगले ओगटेको जग्गामा नयाा औद्योगिक क्षेत्र स्थापना गरिएको छ । मन्त्रिपरिषद्को २०६९ माघ १२ को निर्णयानुसार हेटौंडा कपडा उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको हो । उक्त जमिनमा कम्तिमा नयाँ ५० उद्योग स्थापना गर्न सकिने र सवै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले उद्योग स्थापनाका लागि उद्योगहरुलाई दिइसकेको छ ।