२०८१ बैशाख ३१, सोमबार    

भ्याक्सिन लिएर विकटमा पुगे स्वास्थ्य मन्त्री लामा

२०७८ माघ ८, शनिबार १५:०८ बजे

हेटौंडा/ वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा शनिबार कोरोनाविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पुगेका छन् ।

देशव्यापीरुपमा कोरोना विरुद्ध भ्याक्सिन लगाउने अभियान सञ्चालन भइरहेको अवस्थामा राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसीमान्तकृत चेपाङ समुदायलाई खोप अभियानमा सहभागी गराउन मन्त्री लामाले अभियान नै सञ्चालन गरेका छन् । उनले प्रदेशको १३ जिल्लाभित्र बसोबास रहेको अतिसीमान्तकृत, पिछडिएको समुदायलाई खोपको दायरमा ल्याउन विशेष अभियान नै सञ्चालन गरिरहेका छन् । सोही क्रममा राक्सिराङ–५ स्थित ताङराङमा पुगेर कोरोनाविरुद्धको भ्याक्सिन लगाउन स्थानीयलाई मन्त्री लामाले आग्रह गरे ।

उनले जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर प्रदेशभर नै खोप अभियान नै सञ्चालन भइरहेको बताए । ‘प्रदेशको सवै विकट स्थानको टोल टोलमै पुगेर हामीले खोप अभियान सञ्चालन गरिरहेका छौं । तथ्यांकगतरुपमा हेर्दा विकटमा धेरै मानिस खोप लगाउनै बाँकी देखिएपछि हामीले अभियान नै सञ्चालन गरेका हौं ।’, मन्त्री लामाले भने ।

ताङराङसहित राक्सिराङ र कैलाशको विभिन्न टोलमा अहिले कोरोनाविरुद्धको खोप लगाउने अभियान नै सञ्चालन भइरहेको छ । मन्त्री लामासहित भौतिक पूर्वाधार राज्यमन्त्री सन्त प्रजा, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख भीमसागर गुरागाईंलगायत सहभागी थिए ।