२०८१ बैशाख १३, बिहीबार    

मकवानपुर क्याम्पसमा बिआइसीटी पढाई सुरु

२०७९ भाद्र २८, मंगलबार १३:०३ बजे

मकवानपुर बहुमुखी क्याम्पसमा चालु आर्थिक वर्षको शैक्षिक सत्रबाट शिक्षा संकाय अन्तर्गत बिआइसीटीको पढाई सुरु हुने भएको छ । क्याम्पसको समग्र अवस्थाको बिषयमा जानकारी दिन  आयोजित पत्रकार सम्मेलनमा चालु शैक्षिक बर्षबाट बिआइसीटीको पढाई सुरु हुने जानकारी दिइएको हो ।

कम्प्यूटर सम्बन्धि दक्ष जनशक्ति उत्पादनमा यस बिषयले सघाउ पुर्याउने क्याम्पस प्रशासनको विश्वास रहेको छ । यस्तै क्याम्पसमा यसै बर्षबाट विश्वविद्यालय अनुदान आयोगगद्वारा उच्च शिक्षामा विशिष्टताको प्रबद्र्धन कार्यक्रम अन्तर्गत विस्तारित कार्यसम्पादनमा आधारित अनुदान कार्यक्रम समेत सञ्चालन हुने भएको छ । यस क्याम्पसको चालु आर्थिक बर्ष २०७९/८० मा २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको अनुमानित आयव्यय रहेको छ ।

आयतर्फ शिक्षण शुल्क १५ करोड ४९ लाख ८४ हजार १४०, विशवविद्यालय अनुदान आयोगको नियमित अनुदान तथा परियोजनातर्फ एक करोड ३६ लाख, प्रदेश तथा स्थानीय सरकारको अनुदान सहयोग तर्फ २ करोड २६ लाख ६६ हजार रुपैयाँ अनुमान गरिएको छ भने व्ययतर्फ शिक्षक, कर्मचारी तलव र उपदानतर्फ १३ करोड ८६ लाख ६६ हजार ९२३, कार्यालय उपकरण, पुस्तक र फर्निचर खरिद् एवम् भवन निर्माणतर्फ ३ करोड ८९ लाख ५० हजार र शिक्षण सम्बन्धि खर्चमा २ करोड ९८ लाख ५ हजार खर्च हुने अनुमान रहेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए ।

क्याम्पसमा सह–प्राध्यापक ९ जना, उप–प्राध्यापक ५२, सहायक प्राध्यापक ९, आंशिक ७ र कोर्स करार ४ जना गरी ८१ जनाले अध्यापन गराइरहेका छन् भने कर्मचारीतर्फ सह–प्रशासक २, उप–प्रशासक २, सहायक प्रशासक ७, बरिष्ठ सहायक ३, सहायक ८, कनिष्ठ सहायक २ र कार्यालय सहयोगी ८ जना रहेका छन् । मकवानपुर क्याम्पसका मनिषा लुईटेल, पुष्पा दुलाल, प्रजिता सुवेदी र समिक्षा सापकोटाले बिबिएम तर्फ नेपाल टप गरेका छन् । कक्षा ११ देखि स्नातक तहसम्मको पढाई हुने यस क्याम्पसमा हाल ६ हजार ३२४ जना विद्यार्थी रहेका छन् ।

पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुखत्रय रामेश्वर बराल, डा. रामप्रसाद अधिकारी, डा. यमबहादुर शिलवाल, नेपाली तथा आमसञ्चार विभाग प्रमुख रामजी न्यौपानेलगायत उपस्थिती थिए । २०३७ सालमा स्थापना भएको र समुदायबाट सञ्चालित यस मकवानपुर बहुमुखी क्याम्पसको नेतृत्व करिब २ बर्षदेखि डा. शंकरप्रसाद उपाध्यायले सम्हालिरहेका छन् । पत्रकार सम्मेलनमार्फत क्याम्पसको वस्तुस्थितिको बिषयमा जानकारी दिएको हो ।