२०८१ बैशाख १३, बिहीबार    

राक्सिराङ्गका नवजात शिशुमा धनुष्टंकारको जोखिम

२०७९ असार १७, शुक्रबार १२:२७ बजे

मकवानपुरको राक्सिाराङ्ग गाउँपालिकाका नवजात शिशुमा धनुष्टंकार रोग पाइएको छ । चितवनको भरतपुरमा अस्पतालमा उपचारका लागि आएका नवजात शिशुमा यस्तो रोग देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । एक वर्षको अवधीमा चार जना नवजात शिशुमा धनुष्टंकार देखिएको अस्पतालको एनआईसीयू विभागका प्रमुख बालरोग विषेशज्ञ डा.ओमकृष्ण पाठकले जानकारी दिए । अहिले पनि अस्पतालमा एक शिशुको एनआईसीयूमा उपचार भैरहेको छ ।

डा. पाठकका अनुसार नवजात शिशुमा लाग्ने धनुष्टंकार रोग निकै खतरनाक मानिन्छ । आमा गर्भवती हुँदा टिटानस विरुद्धको सुई नलगाउँदा तथा शिशु जन्मेपछि सालनाल काट्दा खिया लागेको हतियारले काट्दा वा काटेको ठाउँमा माटो तथा गोबर लगाउँदा यस्तो समस्या आउने देखिएको डा. पाठकले बताए ।

उनका अनुसार नवजात शिशु जन्मिएको २४ घण्टापछि यस्तो समस्या देखिने बताए । ‘बच्चाले आमाको दूध खान छाड्ने, रोएको रोयैं गर्ने, झस्किने, कम्पन आउने, कक्रक्क पर्ने जस्ता लक्षणहरु देखिन्छन्’ डा. पाठकले भने, ‘दिमागदेखि सबैतिर यसको असर देखिन्छ, हल्ला नहुने बत्तिको प्रकाश कम भएको विषेश ठाँउमा भेन्टिलेरमा हालेर राख्नुपर्ने अवस्था पनि आउन सक्छ ।’ कक्रक्क परेको शरिरलाई लुलो बनाउँदा सास फेर्न गाह्रो हुने भएकोले उपचार गर्दासमेत विषेश ख्याल गर्नुपर्ने डा. पाठकको भनाइ छ ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सुत्केरी आमा पोशिलो खाना कार्यक्रम गाउँपालिकाले विगतदेखि नै चलाउँदै आएको बताए । ‘नियमित खोप लगायतका कार्यक्रम हरेक वडा वडामा लगेका छौं, केही महिलाहरुमा परिवारमा अझै पनि खोप प्रतिको नराम्रो धारणा भएकोले खोप लगाउन आउँदैनन्’ अध्यक्ष मल्लले भने, ‘पहिलाको भन्दा धेरै सुधार भएको ठानेको छु ।’

उनले नियमित खोप लगाउने र बथिङ्ग सेन्टरमा सुत्केरी गराउने महिलालाई गाउँपालिकाको तर्फबाट पोषण भत्तासमेत दिने गरेको बताए । पोसिलो खाना कार्यक्रमका लागि सुत्केरी हुने महिलालाई पाँच हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ । उनले स्वयम् सेविकामार्फत खोप सम्वन्धी सचतेनामूलक कार्यक्रम यसवर्ष पनि प्राथमिकतामा राखिएको जानकारी दिए ।

‘पहिलाको भन्दा ९० प्रतिशत सुधार भएको देख्छु’ पालिका अध्यक्ष मल्ल भन्छन्, ‘पहिला पहिला बिरामी हुँदा ढ्यांग्रो बजाउने अवस्था थियो, अहिले सचेतना बढेको छ ।’ राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ६ र ७ मा अझै पनि स्वास्थ्य चेतनामा समस्या रहेको अध्यक्ष मल्लले बताए ।