२०८१ जेठ ४, शुक्रबार    

चैतमा जीतपुरसिमरा गोल्डकप

२०७८ फाल्गुन ७, शनिबार १७:१२ बजे

जीतपुरसिमरा गोल्डकप १२ औं संस्करण बाराको सिमरामा चैत दोश्रो सातादेखि सञ्चालन हुने भएको छ । फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

सिमरा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा ६ ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरि १० टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र ग्याम्दाङले जानकारी दिए ।

चैत १० देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न विधाका खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष ग्यामदाङले बताए ।

२०६६ बाट सुरु भएको प्रतियोगिताको उपाधि संकटा क्लब, त्रिभुवन आर्मी फुटबल र मनाङ मस्र्याङदी क्लबले समान २ पटक जितेका छन् । त्यस्तै आयोजक सिमरा, थ्रीस्टार, विजय युथ क्लब हेटौंडा, हिमालयन शेर्पा र मजदुर शहिद स्मृति क्लब समान एक पटक जितेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि उपमहानगरले २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै रङ्गशालाको पूर्वाधार मर्मत एवं फ्लड लाइट व्यवस्थापनका लागि उपमहानगरपालिकाले थप २० लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष ग्यामदाङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपमहानगरकी उपप्रमूख सरस्वती चौधरी, क्लबका उपाध्यक्ष शंकर थापा, पूर्व अध्यक्ष कासीम मियाँ, राजकुमार भट्टराई लगायतको उपस्थिति थियो ।