२०८१ बैशाख १७, सोमबार    

पहिरोमा परी मकवानपुरमा एकजना प्रहरीको मृत्यु

२०८० श्रावण २६, शुक्रबार १५:०० बजे

पहिरोमा परी मकवानपुरमा एकजना प्रहरीको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो । उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृती बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते नेपालीको हेटौंडा अस्पतालमा उपचार गरी फर्कने क्रममा राति ११ बजेर २५ मिनेटको समयमा सुख्खा पहिरो खस्दा ढुङ्गाले लागि मोटारसाइकल चालक प्रहरी जवान सुनिल मेचे र पछाडी सवार नेपाली घाइते भएका थिए । उनी बिहीबार राति भैंसे चेकपोष्टमा डिउटीमा खटिएका नेपाली चिप्लिएर लडी सामान्य घाईते भएर उपचारपश्चात् चौकी फर्किदै थिए ।

घाइते नेपाली र मेचेलाई उपचारको लागि हेटाौडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा नेपालीको राति १२ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो । मोटरसाइकल चालक मेचेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।