२०८१ बैशाख २१, शुक्रबार    

करणको ह्याट्रिकसहित नेपालको जीत

२०७८ चैत्र १७, बिहीबार १६:११ बजे

पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनी करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

करणले अन्तिम ओभरको दवस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो । सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा पहिलो टी२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ ।

फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।