हेटौंडा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा संसदीय समितिको उम्मेदवार छनौट गरेको छ ।
वाग्मती प्रदेश सभाअन्तर्गत् रहेका दुईवटा संसदीय समितिले सभापति छनौट गर्न मतदान गर्ने प्रक्रिया अगाडि बढाएसँगै एमालले उम्मेदावर तय गरेको हो । एमालले अर्थ तथा विकास समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा काठमाडौंका केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाउने भएको हो ।
एमाले मुख्य सचेतक दीपक निरौलाका अनुसार दुवै समितिमा एमालेको एकल बहुमत रहेको छ । ‘दुवै समितिमा हाम्रो १२–१२ जना सदस्य हुनुहुन्छ ।’, उनका अनुसार आजै उम्मेदवारी दर्ता गरिनेछ । वैशाख देखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ ।
अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुनेछैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसागै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ ।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार आज आइतबार अपरान्ह ५ बजेसम्ममा सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्नेछ । प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ ।