२०८१ जेठ ५, शनिबार    

शिक्षकले सञ्चय कोष नपाउँदा विद्यार्थीद्वारा चक्काजाम, प्रअद्वारा हस्ताक्षर नगरी राजीनामा

२०७८ फाल्गुन १०, मंगलबार १९:४२ बजे

हेटौंडा/ सञ्चय कोषबापत्को रकम बैंकमा दाखिला नभएको र उक्त रकम किन जम्मा नगरिएको भन्ने विषयमा स्पष्ट जवाफ नपाएपछि हेटौंडा–११, नवलपुरमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयका शिक्षक र प्रधानाध्यापकवीच विवाद भएको छ ।

५ महिनादेखि शिक्षक तथा कर्मचारीको सञ्चय कोषबापत्को रकम जम्मा नभएपछि दुईपक्षवीच विवाद सिर्जना भएको हो । विवादका कारण पठनपाठनमै समस्या सिर्जना भएपछि मंगलबार विद्यार्थी आन्दोलन उत्रिएका हुन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग नै अवरोध गरेर पठनपाठन पूर्णरुपमा सुचारु माग गर्दै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयको बस दुर्घटना परी मर्मत गरेको र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षकलाई नियमित तलब उपलब्ध गराउँदा सञ्चय कोषबापत्को रकम बैंकमा जम्मा गर्न नसकेको बताएका छन् । उनले यस विषयमा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराएपनि समस्या समाधान गर्न चासो नदेखाएपछि हालको अवस्था सिर्जना भएको बताए ।
शिक्षकहरुले प्रअका कारण आफूहरु समस्यामा परेकोभन्दै वडा र उपमहानगरपालिका कार्यालयलाई समस्या समाधान गरिदिन पटक–पटक आग्रह समेत गरेका थिए । तर, पनि समस्याको समाधान भएन । जसको प्रत्यक्ष असर विद्यालयको पठनपाठनमा पर्न गएको शिक्षकहरुले बताएका छन् ।

‘के कारणले हाम्रो सञ्चयकोष बैंकमा दाखिला भएन भन्ने विषयमा हामीले जवाफ पाउन सकेनौं । हामीले प्रअसँग कुरा गर्दा मुद्धा हाल्नुस् । अदालत जानुस् भन्ने जवाफ आयो । सवैतिर ध्यानाकर्षण गराउँदा पनि समस्या हल नभएपछि हामीले आफ्नो नियुक्ती अनुसार पठनपाठन गर्न थाल्यौ ।’, विद्यालयका एक शिक्षकले भने,‘शिक्षकहरुले आफ्नो नियुक्ती अनुसार पठनपाठन गराउँदा दशजोड दुईका कक्षा नियमित सञ्चालनमा असर परेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।’ ‘सञ्चय कोषको रकम जम्मा नहुनु । विद्यालयको भौतिक पूर्वाधार निर्माणको क्रममा रकम हिनामिनाका गन्ध आउनुले पनि विवादको अवस्था सिर्जना भएको हो ।’, उनले थपे ।

विद्यालयका प्रअ भण्डारीले भने आफूले शिक्षक र विद्यार्थीलाई अनुशासनको दायरामा राख्न खोजेको, बस मर्मतमा खर्च भएको रकम इन्स्योरेन्सबाट प्राप्त भएपछि सञ्चयकोषमा दाखिला गर्ने भनेर जानकारी गराउँदासमेत आफूविरुद्ध गतिविधि भएको दावी गरेका छन् । ‘मैले व्यवस्थापन समितिलाई दबाब दिन दुईपटक हस्ताक्षर नगरी राजीनामा समेत दिएको थिएँ । तर, समस्या समाधान भएन ।’, उनले विद्यालयको पूर्वाधार निर्माणमा रकम हिनामिना नभएको र छानविन गर्न समेत आग्रह गरे । विद्यार्थीको आन्दोलनसँगै विद्यालयको पठनपाठन पूर्णरुपमा सञ्चालन भएको प्रअ भण्डारीले बताए ।