२०८१ बैशाख २३, आईतबार    

शिवम् सिमेन्टको नाफामा उल्लेख्य गिरावट

२०७९ बैशाख २८, बुधबार १२:१० बजे

शिवम् सिमेन्टको खुद नाफा उल्लेख्य रुपमा घटेको छ। पोहोर चैतमा एक अर्ब अधिक रहेको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६५ करोड ४८ लाख रुपैयाँमा सीमित छ। यो ४० प्रतिशतको गिरावट हो।

कम्पनीको सञ्चालन खर्च बढ्दा नाफा प्रभावित भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सञ्चालन खर्च ६ अर्क ५१ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च ६ अर्ब ९ करोड रुपैयाँ थियो। पोहोर चैतको तुलनामा सञ्चालन खर्चको आकार ७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीले कच्चा पदार्थ र विद्युत तथा इन्धनमा सर्वाधिक खर्च गरेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कच्चा पदार्थका लागि कम्पनीले करिब ३ अर्ब रुपैयाँ खर्चेको छ। यस्तै, एक अर्ब ७१ करोड रुपैयाँ विद्युत तथा इन्धनका लागि खर्च गरेको छ। 

कम्पनीको व्यवसायिक आम्दानी भने घट्यो। पोहोर चैतसँग तुलना गर्दा शिवम् सिमेन्टको आम्दानीमा डेढ प्रतिशतको गिरावट देखिन्छ।  अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ अर्ब ३५ करोड रुपैयाँ रहेको शिवम् सिमेन्टको आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा ७ अर्ब २५ करोड रुपैयाँमा सीमित छ।

कम्पनीको कुल आम्दानी ७ अर्ब २९ करोड रुपैयाँमा झरेको छ। यसमा ३ करोड ७५ लाख रुपैयाँ कम्पनीले अन्य स्रोतमार्फत आर्जन गरेको आम्दानी पनि छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा शिवम् सिमेन्टको प्रति सेयर आम्दानी १३.१९ रुपैयाँ घटेको छ। खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि उल्लेख्य रुपमा घटेको हो। समीक्षा अवधिमा कम्पनी प्रति सेयर आम्दानी १९.८४ रुपैयाँ छ। 

यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ २०८.७३ रुपैयाँ छ। र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँमा आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९.९० गुणा छ।