२०८१ बैशाख २१, शुक्रबार    

मुख्यमन्त्री पाण्डेले भने- ‘मन्त्रालय विभाजन गरेकोमा पश्चताप छैन’

२०७८ माघ २१, शुक्रबार १६:५१ बजे

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेको विषयमा आफूलाई पश्चताप नभएको टिप्पणी गरेका छन् । गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डेले ७ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएसँगै उनको चौतर्फीरुपमा आलोचना भइरहेको छ । हाल वाग्मती प्रदेशमा १६ सदस्यीय जम्बो मन्त्रिपरिषद् रहेको छ ।

पाण्डेको नेतृत्वको प्रदेश सरकार गठनको १०० दिन पूरा भएको सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालय विभाजनको विषयमा औपचारिक भनाइ राखेका हुन् । ‘हामीसँग भएका विगतका पुराना मन्त्रालयबाट सेवा दिन केही समस्या भयो । त्यसो भएकाले हामीले सेवा प्रभावकारी बनाउन १४ वटा मन्त्रालय बनाएका छौं । त्यो १४ वटा मन्त्रालयले प्रभावकारी काम गरेर केही समयभित्रमा देखाउने छन् । मन्त्रालयको संख्या धेरै भयो भनेर मैले हिच्किचाउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘काम गर्नकै लागि विभाजन गरिएको हो ।’ उनले मन्त्रालय विस्तार संविधानअनुसार भएको दाबीसमेत गरेका छन् ।

सामान्यतया सरकार गठन भएको यस अवधिलाई ुहनिमुन पिरियडुको रुपमा व्याख्या गरिन्छ । मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सरकारले पहिलो सय दिनमा उल्लेख्य काम गरेको दाबीसमेत गरे । सरकारको उपलब्धि सार्वजनिक गर्दै उनले प्रदेशलाई सशक्त बनाउन नीतिगत रूपमा धेरै भूमिका खेलेको बताए । (इकान्तिपुरबाट)