२०८० चैत्र १६, शुक्रबार    

अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन ‘नवोदय मोडल युनाइटेड नेशन’

२०७९ भाद्र १९, आईतबार १४:२८ बजे

 हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा आजबाट ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम सुरु भएको छ ।      

यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा (मोडल युनाइटेड नेशन) बैठक यसपटक भौतिक उपस्थिति मै आयोजना गरिएको हो । विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन अभ्यासमा आधारित भई कार्य गर्न खोजिएको विद्यालयले जनाएको छ । 

नमूना संयुक्त राष्ट्र संघीय महासभामा महासचिवको भूमिका निर्वाह गरिसकेकी छात्रा रेजा विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, डब्लुएचओका मकवानपुर प्रतिनिधि सन्तोष कर्ण, हेटौंडा उपमहानगरका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, विद्यालयका निर्देशक पुरन बहादुर जोशी प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी लगायतको उपस्थिती रहेको थियो । 

तीन दिन सम्म सञ्चालन हुने महासभाको लागि चाहिने एजेण्डाहरु समुहगत रुपमा प्रस्तुत गरिएको थियो । विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा लिइएको छ । 

 महासभाको आयोजनाले विद्यार्थीमा अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, योजनाका विषयमा पनि जानकारी हुने, संयुक्त राष्ट्र संघको वास्तविक संरचना र अभ्यासमा आधारित भएर नमूना अभ्यास गर्न लागिएको विद्यालयले जनाएको छ । 

 

महासभामा विश्व स्वास्थ्य संगठनको तर्फबाट विश्वभर आनुवंशिक विकारलाई सम्बोधन गर्ने, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को तर्फबाट विश्वव्यापी सुरक्षाका लागि उपनिवेशको कमी, आर्थिक र वित्तीय मामिला 
परिषद्ले बढ्दो मुद्रा स्फिति विश्वव्यापी मन्दी विरुद्धको लडाइँलाई प्रमुख मुद्दा बनाउँदा खाद्य तथा कृषि संगठनले राम्रो उपजका लागि भविष्यको कृषि प्रविधिको विकासलाई प्रमुख एजेण्डामा छलफल गरिने जनाइएको छ । 

नमूना महासभामा हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्यार्थीले पनि सहभागी जनाएका छन् ।