२०८१ जेठ ४, शुक्रबार    

वाग्मतीका मुख्यमन्त्री पाण्डेलाई एमालेको चेतावनी

२०७८ माघ २०, बिहीबार १७:४३ बजे

हेटौंडा/ वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चेतावनी दिएको छ ।

वाग्मती प्रदेश सभाको चौथो वार्षिकोत्सव कार्यक्रममा माघ १९ गते बुधबार मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बीच मञ्चमै भनाभन भएको थियो । उक्त विषयलाई लिएर एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डेलाई चेतावनी दिएका हुन् । उनले जारी गरेको विज्ञप्तीमा मुख्यमन्त्री पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै त्यसका विरुद्ध एमाले कडा प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।

‘प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिने काम भएको छ । अघिल्लो प्रदेश सरकारले स्थापना कालमै लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्द खर्च गर्ने काम भइरहेको त्यसको हामी खुलेर विरोध गर्नेछौं ।’, विज्ञप्तिमा भनिएको छ ।

‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जतातै अस्तव्यस्ता सिर्जना गरिएको छ । सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीएको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?’, निरौलाले भने ।