२०८१ बैशाख १३, बिहीबार    

रियल म्याड्रिड र फ्रान्कफुर्ट भिड्दै

२०७९ श्रावण २५, बुधबार १५:१० बजे

युइएफए सुपर कपको उपाधिका लागि आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल फिनल्यान्डस्थित हेलसिंकीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । नयाँ सिजन शुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा गर्ने प्रावधान छ । रियल च्याम्पियन्स लिग तथा फ्रान्कफुर्ट युरोपा लिग विजेता हो ।

रियलले इंग्लिस क्लब लिभरपुललाई तथा फ्रान्कफुर्टले स्कटिस क्लब रेन्जर्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।फ्रान्कफुर्टविरुद्ध मैदान उत्रदा रियल उच्च मनोवलका साथ मैदान उत्रदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, डेभिड अलाबा, फर्लान्ड मेन्डी, इडर मिलिसाओ, ड्यानी कार्भाजल र थिवाउट कोर्टुवा रहेका छन् ।

यस्तै यसै समरमा क्लबमा भित्रिएको एन्टेनियो रुडिगर र ओरेलिएन चुआमेनीले रियलबाट आधिकारिक डेब्यु गर्ने सम्भावना छ । यसबाहेक टोलीसँग मार्काे एसेन्सियो, लुकास भास्क्वेज र ड्यानियल सेवालोस पनि टोलीमा रहेका छन् । गत सिजन अग्रपङ्तिमा बेन्जेमा र भिनिको जोडी निक्कै जमेको थियो । चोटबाट फर्किएका हाजार्डबाट रियलले उच्च प्रदर्शनको अपेक्षा गरेको छ ।

यता, जर्मन क्लब फ्रान्कफुर्ट पनि रियललाई स्तब्ध पार्दे सिजनको पहिलो उपाधि जित्न चहान्छ । टोलीसँग राफायल सान्तोष बोर, दाइची कामदा, मारियो गोट्जे, सेवास्टिएन रुड, क्रिस्टोफोर लेन्ज, जिव्रिल सो, अन्सगर नाउफ, टुटा, अल्मामी टाउरे र गोलरक्षक केभिन ट्रयाप रहेका छन् ।

यि दुई टोली ६२ वर्षपछि भिड्न लागेका हुन् । १९६० मा ह्याम्पडेन पार्क ग्लास्गोमा भएको युरोपियन कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । १० गोलको थ्रिलमा अलफ्रेडो डि स्टेफानोले ह्याट्रिक पूरा गर्दा रियल म्याड्रिड ७–३ ले विजयी भएको थियो ।