अविरल वर्षासँगै आएको बाढीले खेल मैदान (चौर) बगाएपछि हेटौंडा १९ सानान्टारमा आयोजना गर्ने तयारी गरिएको दोस्रो तपोवन कप खुला फुटबल प्रतियोगिता स्थगित भएको छ ।
सानान्टारको तपोवन यूथ क्लवको आयोजनामा १६ गते बुधबारबाट फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । अविरल वर्षासँगैको बाढीले सानान्टारको पक्की पुल मुनी निर्माण गरिएको खेल मैदान बगरमा परिणत गरिदिएको छ । क्लवले फुटबल प्रतियोगिता आयोजना तथा स्थानीय खेलाडीहरुको सहजताको लागि नयाँ चौर निर्माण गरिएको थियो ।
दशैं तिहारको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको एट ए साइड खुला फुटबल प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्न नसकिने अवस्था आएको क्लवका सुमन पाख्रीनले बताए । ‘बाढीका कारण दशैं अघि गर्ने भनिएको प्रतियोगिता नहुने अवस्था आएको छ’, उनले भने, ‘अब फेरी चौरको मर्मत सम्भार पश्चात प्रतियोगिताको मिति तोक्नेछौं ।’ बाढीले बिगारेको चौर मर्मतका लागि स्थानीय फरी जुर्मुराएका छन् । सानान्टारका युवाहरुले तपोवन चौरमा खेल खेल्दै आएका थिए ।
उक्त चौर समेत जंगली जनावरले बिगारिदिने समस्याका कारण बगरको छेवैको नदी उकास क्षेत्रमा चौर निर्माण गरिएको थियो । दशैंतिहारको बीचमा वा तिहार लगत्तै प्रतियोगिता आयोजना गरिने क्लवका सरोज विष्टले बताए । प्रतियोगिताका लागि विदेशमा रहेका स्थानीय युवाहरुबाट केही रकम समेत सहयोग प्राप्त भैसकेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको थियो । प्रतियोगिताको पहिलो संस्करणको उपाधि आयोजक तपोवन यूथ क्लवले नै जितेको थियो ।