२०८१ बैशाख २८, शुक्रबार    

मन्त्रालय विभाजन गरेपनि बढेन सरकारी खर्च

२०७८ फाल्गुन १०, मंगलबार १०:३८ बजे

वाग्मती प्रदेश सरकारको खर्चको अवस्था ज्यादै कमजोर देखिएको छ । विकास बजेट शतप्रतिशत खर्च गर्ने दावी गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेर संख्या बढाएपनि खर्चको अवस्था भने ज्यादै दयनिय देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिना बितिसक्दा बजेट खर्च ज्यादै निराशाजनक छ । चालु आव सकिन ५ महिना मात्रै बाँकी रहँदा सरकारको कुल बजेटको १९.८२ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ७ महिनामा समग्रमा ११ अर्ब ४४ करोड ८७ लाख ९७ हजार ७ सय ३६ रुपैयाँ मात्रै खर्च भएको छ । जसमा विकास बजेट अर्थात् पुँजीगत खर्च १२.९३ प्रतिशत मात्रै भएको छ ।

सरकारले चालु आवमा ५७ अर्ब ७७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये ३१ अर्ब ४३ लाख ९० हजार कुल पुँजीगत बजेटमा ७ महिनामा ४ अर्ब एक करोड ४१ लाख ६ सय ६६ रुपैयाँ र २४ अर्ब ७७ करोड २० लाख ३७ हजार रुपैयाँ चालु बजेटमा हालसम्म २३.४ प्रतिशत अर्थात् ६ अर्ब ४३ करोड ४६ लाख ९७ हजार ७० रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारी खर्च दर बढाउने र जनताले महसुस गर्ने गरी काम गर्नेभन्दै गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले प्रदेशमा ८ मन्त्रालय विभाजन भएर १४ वटा बनेको करिब ४ महिना पुग्न लागे पनि हालसम्म विभाजित मन्त्रालयहरुले बजेट प्राप्त नगर्दा पनि खर्च नबढेको हो । एमाले नेतृत्वको अघिल्लो सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज गराएको भन्दै सरकारको आलोचना गरेर नथाकेका मुख्यमन्त्री पाण्डेले सरकारको बजेट खर्च बढाउने भनेर अझैं अन्यौलमै देखिन्छ । विभाजित मन्त्रालयहरूले चालु आवको ७ महिनासम्म पनि बजेट पाएका छैनन् । कर्मचारी र बजेट रकमान्तरको चक्करमै सरकार फसिरहेको छ ।

विभाजित मन्त्रालयलाई बजेट बाँडफाँडमै समस्याहुँदा अपेक्षित अनुसार खर्च गर्न नसकेको मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिए । ‘मन्त्रालय विभाजनकै कारण बजेट खर्च नबढेको हो ।’, उनले भने ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारलाई बजेट खर्च गर्नै चुनौती भएको बताएका छन् । ‘अघिल्लो सरकारले बजेट ल्यायो । हामीले कार्यान्वयन गरिरहेका छौं । तर, पनि आवश्यक कर्मचारी सरकारसँग छैन । त्यसकारण सरकार खर्च कमजोर देखिएको हो ।’, उनले भने । अघिल्लो सरकारको तुलनामा पनि बजेट खर्च गर्न नसके आफूहरुमा नैतिक संकटमा पर्ने उनले स्पष्ट पारे ।