२०८१ बैशाख २१, शुक्रबार    

घरजग्गा व्यवसायी आन्दोलित

२०७९ कार्तिक २२, मंगलबार २०:०५ बजे

हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणको विषयलाई कार्यान्वयन गर्ने सम्बन्धमा आलटाल गरेको भन्दै मकवानपुर घरजग्गा व्यवसायी संघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा कार्यक्रमबारे जानकारी गराउँदै पटक–पटक लिखित/मौखिक जानकारी गराउँदा समेत उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अनुसार कात्तिक २३ गते हेटौंडा उपमहानगरपालिकामा धर्ना तथा प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने, २४ गते उपमहानगरपालिकाको कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्ने, २५ गते नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी र २७ गते हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण सेवा ठप्प पार्ने कार्यक्रम तय गरिएको जिल्ला प्रशासन कार्यालयमा जानकारी गराईएको छ ।

सरकारले दिएको अधिकारलाई स्थानीय सरकारले कार्यान्वयन गरिदिनुपर्ने मागसहित नगरप्रमुखलाई भेट्न जाँदा अभद्र व्यवहार गरिएको कारण बाध्य भएर संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको उल्लेख गरिएको छ । संघले आज मंगलबार नै हेटौंडा उपमहानगरपालिकामा पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ध्यानाकर्षण पत्रलाई बेवास्ता गरी व्यवसायी तथा सर्वसाधारणको समस्यालाई तुरुन्तै सम्बोधन नगरिएमा यस संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने पत्रमा उल्लेख छ ।